Advertisement
![]() |
काठमाडौँ, २० भदौ - आउँदो दसैंतिहारका लागि नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जनाएका छन्।
ती बैंक तथा वित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने छन्। राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ।
राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ। गत वर्षको भन्दा यो धेरै हो। अघिल्लो वर्ष दसैंतिहारमा सर्वसाधारणले प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म यो सुविधा पाएका थिए। यसपालिको दसैंमा सर्वसाधारणले ५, १०, २०, ५० र १०० का गरी दुईरदुई प्याकेटका दरले सटही गर्न पाउने छन्।
हरेक दिन ३ हजार ५ सयदेखि ४ हजारसम्म सेवाग्राही नोट सटही गर्न आउने अनुमान छ, राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख भुवन कँडेलले भने। त्यसका आधारमा केन्द्रीय बैंकबाट हरेक दिन २० देखि २५ करोड रुपैयाँका नयाँ नोट सटही हुने अनुमान रहेको उनले बताए। गत वर्ष राष्ट्र बैंकले ५७ अर्ब ८५ करोड रुपैयाँ बराबर विभिन्न दरका नयाँ नोट वितरण गरेको थियो। कान्तिपुरबाट
Advertisement
![]() |
Post a Comment