0
Advertisement

भाद्र १९, २०७२- अमेरिकी सैन्य पोसाकमा नेपाली मुहारकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै व्यस्त थिइन्, भूकम्पपछिको राहत र उद्धारका बेला । नेपाली चेली अमेरिकी सैन्य पोशाकमा देखिएपछि धेरैको ध्यान स्वाभाविक रूपमा उनीतिर तानियो । धेरैले आश्चर्य पनि माने । अनि ती युवतीबारे सोधीखोजी हुन थाल्यो । त्यतिबेला महाभूकम्पपछि शक्तिसम्पन्न मुलुक अमेरिकी सेनाको मरिनलगायतको ‘फोर्स’ पीडितको खोजी तथा उद्धार कार्यमा नेपाल आइपुगेको थियो । त्यही ‘फोर्स’ समूहमा सामेल थिइन्, कविता विष्ट । पश्चिम नेपालकी कविता उद्धारका लागि नेपाल भित्रिएका अमेरिकी सैन्य समूहको समन्वय गर्न खटिएकी थिइन् । तर उनी महाभूकम्पपछि नेपाल आएकी होइनन्, त्योभन्दा छ महिनाअघिदेखि नेपालमै थिइन् । उनले त्यतिबेला यस पंक्तिकारसँग भनेकी थिइन्, ‘मलाई धेरैले महाभूकम्पपछि नेपाल आएको ठानें । त्यसो होइन, म छ महिनादेखि अमेरिकी दूतावासमा रहेर सेना र प्रहरीसँग काम गरिरहेको थिएँ ।’ सशस्त्र प्रहरीसँग मिलेर विभिन्न जिल्लामा स्यालो ट्युबवेल राख्नेलगायतका धेरै काममा उनी सहभागी भइन् । यता हुँदा उनले गैरफौजी प्रकृतिका काम गरेकी थिइन् । अमेरिका फर्किनुअघि भनिन्, ‘प्यारासुट जम्प नगरेको छ महिना भयो । अब गएर दुईपटक नियमित ‘प्याराजम्प’ गर्नुपर्छ ।’ अमेरिकी सेनाले आफ्नो नियमित अभ्याससँगै हरेक तीन महिनामा एकपटक प्याराजम्प गर्नैपर्छ । यो नियमित प्रक्रिया हो । कविता अमेरिका भने सैनिक बन्न गएकी थिइनन् । उनी पत्रकारितामा उच्च शिक्षा लिन अमेरिका पुगेकी थिइन् । पढाइसँगै जीवनलाई कुन मोड दिने भन्ने अन्योलकै बीच उनी अमेरिकी सेनामा भर्ती भइन् । त्यहाँ पुगेपछि पत्रकारितामा ग्राजुयसन गरेकी उनले अहिले पढाइको क्षेत्रसमेत परिवर्तन गरेकी छन् । ‘अहिले सेनामा रहेर रसायनशास्त्र पढ्दै त्यहाँबाट माथि उक्लने भर्याङ तय गरिरहेकी छु,’ उनले भनिन् । अमेरिकी सेनामा नेपाली र अन्य दक्षिण एसियाली मुलुकले पनि भर्ना पाउने जानकारी पाएपछि उनी यथार्थ बुझ्न सेनाको क्याम्प पुगेकी थिइन् । उनले भनिन्, ‘विद्यार्थीले सेनामा नपाउने थाहा पाएपछि निराश भएर म फर्किएँ । तर हिम्मत हारिनँ ।’ नेपालमा रहँदा अध्ययनकै क्रममा रेडियो नेपालमा काम गरेकी उनले त्यहाँ पुगेर पनि सूचना लिने तथा लगातार लागिरहने कार्यमा पछि परिनन् । ‘सन् २००९ तल्लो सिपाहीमात्र होइन योग्यताअनुसारको दर्जामा विद्यार्थीले पनि आवेदन दिन पाउने भयो । त्यसपछि हतारिंदै सेनामा भर्ना हुन क्याम्प पुगें । तर नेपाली भाषाबाट जानेको कोटा सकिएको सूचनाले म पुन: निराश भएँ,’ उनले सुनाइन्, ‘तर, तत्काल थाहा भयो । उर्दूको कोटा बाँकी रहेछ । मलाई उर्दूको पनि ज्ञान भएको हुनाले त्यसमै परीक्षा दिएँ ।’ भाषा परीक्षामा कविता पास भइन् र अमेरिकी सेना बनिन् । उर्दूको परीक्षाबाट सेनामा गए पनि उनलाई त्यहाँको सेनाले नेपालसँग सम्बन्धित कामै बढी जोड दिएको उनले बताइन् । त्यही क्रममा उनी आफ्नो सेनाको तर्फबाट नेपालस्थित अमेरिकी दूतावासमा काम गर्न आएकी हुन् । यहाँ उनले सशस्त्र प्रहरी बल र नेपाली सेनासँग मिलेर काम गरिन् । विभिन्न परियोजना लागू गर्न सहकार्य गरिन् । काम सकिएर उनी फर्किने क्रममा थिइन् । त्यही बेला आठ हजारभन्दा बढीको ज्यान लिने गरी महाभूकम्प गयो । त्यसपछि उनलाई सोच्दै नसोचेको जिम्मेवारी आइपर्यो । त्यसपछि उद्धार कार्यमा आएका अमेरिकी सेनालाई नेपाली सेनासँगको सहकार्यमा उनले सघाइन् । भीएस निकेतनबाट विद्यालय शिक्षा र हिमालयन ह्वाइटहाउसबाट १० जोड दुई सकेकी उनी अन्तर्राष्ट्रिय विमानस्थलमा सेलिब्रेटीजस्तो बनिन् । तर पनि फर्कने बेलामा उनले नेपालको पीडा र यहाँ भएको अमेरिकी हेलिकोप्टर दुर्घटना नै सम्झिरहेकी थिइन् । कविताले अमेरिका फर्किनु एक दिनअघि दूतावासअगाडि आफ्नो सेना प्रवेश कथा सुनाएकी थिइन् । हसिली मुद्राकी उनी निकै कम बोल्दै थिइन्, त्यो पनि अड्कली–अड्कली । कुनै बेला उनी आफू मात्र बोलिरहने रेडियोको जागिरमा थिइन् । उनले भनिन्, ‘अब अधिकृतको रूपमा बढुवा हुन सके पेन्सन पकाउन्जेल यही पेसामा रहिन्छ । यदि त्यस्तो हुन नसकेमा केही वर्षपछि अर्काे जागिरमा जाने योजना छ ।’ सेनामा जागिर खान घरपरिवारबाट कुनै रोकावट नआएको उनले बताइन् । उनका बुवा रामबहादुर विष्ट कांग्रेस नेता हुन् । ‘बुवा लामो समयदेखि राजनीति गर्ने भएकाले हामी सधैं आमामा नै निर्भर थियौं,’ उनले भनिन्, ‘मेरो दाइ नेपाली सेनामा रहेको कारण पनि आफूलाई अमेरिकी सेनामा जागिर हुने विषय उठाउँदा घरमा सहज भएको हो ।’ कविता अविवाहित छन् । ‘घरजम गर्ने विषयमा पनि सोच्दैछु, हेरौं के हुन्छ,’ उनले सुनाइन् । उनले सिपाहीको दर्जा ई थ्रीबाट आफ्नो सेनाको जागिर आरम्भ गरेकी हुन् । ‘इ–वान’ र ‘इ–नाइन’ सम्म सिपाहीको स्तरमा हुनेछ । तर ‘ओ–वान’ र ‘ओ–टु’ अधिकृत स्तर हुन्छ । ‘एअर फोर्स, नेभी, मोरिन र अमेरिकी आर्मी भन्ने छ तर म अमेरिकी सेनामा हुँ,’ उनले भनिन्, ‘सेनाको सबै अभ्यास नियमित नै छ । म यो अभ्यासबाट कत्ति पनि बाहिर हुन चाहन्नँ ।’ सानोमा अग्लो स्थानबाट हामफाल्न डर लाग्ने उनी अहिले आँटिली भएकी छन्, प्याराजम्प गर्नसमेत डर नमान्ने । ‘म पहिलोपटक प्याराजम्पमा दुर्घटनामा परें । ज्याकेटको एक बटम खोल्न नसक्दा समुद्री किनारमा राम्रैसँग घस्रिएँ । तैपनि हिम्मत हारिनँ,’ उनले सुनाइन् ।
यसमा तपाईको मत

Advertisement

Post a Comment

 
Top