Advertisement
![]() |
भाद्र २४, काठमाडौं । बी. पी. कोइराला अब धेरै दिन बाँच्न सक्दैनन् भनेर डा. मृगेन्द्रराज पाण्डेले तत्कालीन राजा वीरेन्द्रलाई भनेपछि उपचारका लागि अमेरिका पठाउने निधो भयो । जेलमा रहेका बीपीलाई राजाले बोलाउन पठाएपछि राजा र बीपीबीच भेट भयो ।
बीपी राजासँग राजनीतिक कुरा गर्न चाहन्थे । राजाले उपचार गरेर आऊ त्यसपछि अरू कुरा गरौँला भनेछन् । बीपीले राजनीतिक कुरा उठाएपछि राजा वीरेन्द्र जुरूक्क उठेर मेरो कुरा नसुन्ने म यो देशको राजा हुँ’ भनेछन् । बीपी पनि जुरुक्क उठेर ‘म पनि यो देशको जनताको नेता हुँ’ भनेपछि बल्ल राजाले बीपीको कुरा सुन्न तयार भएछन् । यसरी बीपीमा राजासँग सिधै टक्कर लिने क्षमता थियो, यी भनाइ हुन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठका ।
नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्य क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालाबाट परिचित बीपीको शुक्रबार १०२ औँ जन्म जयन्ती, नेपाली काँग्रेस तथा नेपाली साहित्यकारहरूले देश विदेशमा विभिन्न कार्यक्रमसाथ उनलाई सम्झँदैछन् ।
पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा आजीवन काराबास सजाय पाएर १० वर्षसम्म बन्दी जीवन बिताएका प्रजातन्त्र सेनानी श्रेष्ठ भन्छन्, ‘बीपी राणा प्रधानमन्त्रीद्वय पद्मशमशेर र मोहनशमशेरका पालामा दुई पटक जेल परे । त्यसैगरी, २०१७ सालमा बीपी प्रधानमन्त्री नै हुँदा पुनः जेल परे, त्यसबेला उनले नौवटा माग राखेका थिए, उनको एउटा माग पत्रपत्रिका पढ्न पाउनुपर्ने रहेछ । म पनि जेलमा थिएँ, पछि थाहा भयो बीपीको कारण हामीले पनि ‘गोरखापत्र’ पढ्न पायौँ ।’
विसं १९७१ साल भदौ २४ गते जन्मिएका बीपीको असाधारण अभिव्यक्ति कला, लेख्य क्षमता, भाषिक ज्ञान र समर्पणभाव अनि दुःखदायी जीवनी पढ्दा जोकोही पनि भावुक हुन्छन् । राणाशासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्न राजनीतिक आन्दोलनमा होमिएका सर्वाधिक लोकप्रिय नेताहरूमा बीपीको नाम अग्रपङ्क्तिमा आउँछ । बीपी नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र नभएर कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि थिए ।
२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मत आर्जन गरी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको राजासँग टकरावकै कारण २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण भयो र उनीलगायत नेताहरू पनि जेल परे । आठ वर्ष निरन्तरको जेलजीवनपछि उनी भारत निर्वासित भए ।
-गोरखापत्र दैनिक
Advertisement
![]() |
Post a Comment