0
Advertisement

पर्वत, २२ भदौ । जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको पवित्र तीर्थस्थल मोदीवेणी धाममा १०८ गौमुखी धारा निर्माण भएका छन् । निर्माण समितिले आउँदै गरेको सोह्रश्राद्ध तिथिमा सञ्चालनमा ल्याउने गरी उक्त कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
दुई वर्ष अघिदेखि खानेपानीसहितको बृहत्तर योजनाअनुरुप उक्त १०८ गौमुखी धारा निर्माण कार्य सम्पन्न भएको हो । मोदीवेणी धाममा पर्यटक तथा तीर्र्थालुको आकर्षण बढाउन उक्त गौमुखी धारा निर्माण गरिएको मोदीवेणी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष केशव बैरागीले जानकारी दिए  ।
उक्त धारा निर्माणका क्रममा प्रतिधारा रु १० हजार व्यक्तिगत रुपमा सङ्कलन भएको र सहयोगी दाताबाट नै धाराको उद्घाटन गराएर हिन्दू धर्मावलम्बीले मान्दै आएको सोह्रश्राद्ध तिथिबाट सञ्चालन सुरु गर्ने उनले बताए। झन्डै रु एक करोड लागतमा सञ्चालित योजनामा धारा निर्माणसहित मोदीवेणीमा २० घनमिटरका दुई खानेपानी ट्याङ्की, बलेवा क्षेत्रमा निर्माणाधीन वृद्धाआश्रमका लागि पाँच घनमिटरको एक खानेपानी ट्याङ्की र तीर्थालुका लागि शौचालय निर्माण भइसकेको छ ।
त्रिवर्षीय योजनाअन्तर्गत यस वर्ष सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको बैरागीले जानकारी दिए  । एक सय ८ धारामा करिब ५० मिटर तल बगिरहेको कालीगण्डकी नदीबाट वाटर पम्पिङ गरी कालीगण्डकीको पानी धारामा ल्याइने भएको छ । जेनेरेटरको प्रयोग गरी पानी शुद्धीकरण गरेर धारामा सञ्चालन गरिने उनले बताए  । सोसँगै अहिले मोदीवेणीमा कुश्मा नगरपालिकाको रु ५० हजार सहयोगमा बिजुली बत्तीको समेत व्यवस्था गरिएको छ ।
पर्वतका करिब २३ गाविसका बासिन्दाको शव दाहसंस्कार गर्ने घाटका रुपमा रहेको मोदीवेणीमा जुनसुकै समयमा आउने सर्वसाधारणलाई पनि सहज होस् भन्ने उद्देश्यले बिजुली बत्तीको व्यवस्था गर्न लागिएको बैरागीले बताए।
एक सय ८ धारा स्नान गर्नका लागि मुस्ताङको मुक्तिनाथ पुग्नुपर्ने तीर्थालुको बाध्यतालाई मध्यनजर गर्दै मुस्ताङबाटै आएको पवित्र कृष्णगण्डकी (कालीगण्डकी)को पानीबाट यहीँ नुहाउने व्यवस्था भएपछि थप राहतको महसुस हुने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको मोदीवेणी संरक्षण समितिले जनाएको छ ।

Advertisement

Post a Comment

 
Top