Advertisement
![]() |
हामीले खाएको खाना राम्रोसँग पच्नुपर्छ । खाना राम्ररी पाचन भयो भने त्यसबाट शक्ति प्राप्त हुन्छ । हामीले खाँदा नपचेको बाँकी पदार्थ ठूलो आन्द्रामा गएर जम्मा भएको हुन्छ । हामीले खाएको खाना राम्ररी निष्कासन भएन भने कब्जियत हुने हो ।
कब्जियत भनेकै अन्य रोगहरूको जन्मदाता हो । कब्जियतकै कारण थुप्रै रोग लाग्छन् । कब्जियत हटाउन अनेक उपचार विधि छन् । सहज र घरमै आफैंले गर्नसक्ने पहिलो उपचार भनेको प्रशस्त मात्रामा पानी पिउनु हो । यो सजिलो, सुलभमात्रै होइन प्रभावकारी विधि पनि हो । बिहान उठेपछि एक लिटर सकेसम्म मनतातो पानी पिउनु उत्तम हुन्छ । हामीले यसरी पिएको पानीले पेटमा रहेको फोहोर वस्तु पखालेर निकाल्न सघाउँछ । बिहानको पानी ठोस पदार्थ, चिया, कफी नखाएर पिउनुपर्छ । यसरी पिएको पानीले मानिसलाई मूत्र विकार, ग्यास्ट्रिकबाट पनि बचाउँछ ।
सामान्य कारणले आँखा, पैतला जलन हुने, पत्थरी र मिर्गौलासम्बन्धी रोग हुनबाट समेत बिहानको पानी सेवनले बचाउँछ । टाउको दुख्ने समस्या, पिसाब पोल्ने समस्या र रगत शुद्ध गर्न पनि यसले सघाउँछ । पानीले स्मरण शक्ति बढाउन र कालोपोतो हटाउन पनि भूमिका खेल्छ । प्रशस्त पानी पिउनाले मुहार उज्यालो बनाउनुका साथै चाउरीपन रोक्न र छाला कोमल बनाउन पनि सहयोग गर्छ ।
स्वास्थ्यविज्ञको सुझावलाई मान्ने हो भने एकजना वयस्कले दिनमा चारदेखि पाँच लिटर पानी पिउनु राम्रो मानिन्छ । खाना खानुभन्दा एक घन्टापहिले र खाएको दुई घन्टापछि मात्र पानी पिउनु लाभदायक मानिन्छ । खाना खाइरहँदा सकेसम्म पानी पिउनु राम्रो होइन, अझ टाढाबाट 'आँ' गरेर त पानी पिउनै हुँदैन । गिलासमा मुख जोडेर पानी पिउने गर्नाले पानी श्वासनलीमा जाने खतरा हुँदैन । साँझको बेला खाना खाएको एक घन्टापछि मात्र पानी पिउनुपर्छ । सुत्ने बेला मनतातो पानी पिएर सुतेमा मन्द टाउको दुखाइ कम हुनुका साथै मीठो निद्रा लाग्छ ।
प्यास लागेको अवस्थामा चिया, कफी, अन्य पेय पदार्थ पिउनु थप कब्जियत निम्त्याउनु हो । पानी नै पिउनु उत्तम हुन्छ । मानिसको शरीरमा ५० प्रतिशत खाना, २५ प्रतिशत पानी र २५ प्रतिशत पेट खाली हुनुपर्छ । खाना खाँदा थोरै अझ खान इच्छा हुँदाहुँदै छोडिदिनु उत्तम हुन्छ । खाना खाने बेला कोचीकोची खानु हुँदैन । पेट केही खाली छोड्नुपर्छ ।
Advertisement
![]() |
Post a Comment