Advertisement
![]() |
नेपालबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहीबार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बैंकक जाने बेलामा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरे । ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएको घुमाउरो आरोप लगाए । आफूले पनि मोदीलाई भ्रमण अघि दुई–दुई पटकसम्म विशेष दूत पठाएका ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डको पत्र सार्वजनिक गर्न भन्दै नयाँ चर्चा कमाइरहेका छन् । जुन पत्राचारको संस्कार संसारका विभिन्न देशमा हुने गरेको छ । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले झण्डै १५ दिन लामो बैंकक भ्रमण तय किन गरे त ? नेपालमा जस्तै नयाँ दिल्लीमा पनि उनको भ्रमणको चर्चा हुन थालेको छ ।
नेकपा एमालेका अनुसार बिहीबार थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककमा स्वास्थ्य परीक्षण गराउनेछन् । त्यसपछि उनको भ्रमण इन्डोनेसिया हुनेछ । एमाले पार्टी कार्यालयको विज्ञप्ती र ओलीको अभिव्यक्तिअनुसार भ्रमण विशुद्ध स्वास्थ्य परीक्षण तथा घुमघाममा केन्द्रित रहेको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश वज्राचार्य र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।
ओली भ्रमणको भारतमा चर्चा
भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परीक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रित रहेको छ ।
त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो । स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था ‘रअ’ले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ ।
अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका छन् । उनले थाइल्याण्ड बसाइँमा ओलीसँग नेपाल मामिलामा छलफल गर्नेछन् ।
भारतीय जनता पार्टी निकटस्रोतले भन्यो– ‘ओलीले स्वास्थ्य परीक्षणका लागि भ्रमण भन्ने देखाउन निजी चिकित्सक दिव्या सिंह शाहलाई समेत थाइल्याण्ड लैजाने तयारी थियो । नयाँ दिल्लीबाट गोप्यताको कुरा गरिएकाले ओलीले आफ्ना राजनीतिक सल्लाहकार र परिवारका सदस्यलाई मात्र भ्रमणमा लगेका छन् । उपचारका लागि भन्दा पनि अहिले सम्बन्ध सुधार गरौं भन्ने ओलीको चाहनामा यो भ्रमण तय भएको हो ।
त्यसैले राजनीतिक सल्लाहकार विष्णु रिमाललाई भ्रमणमा राखिएको छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ताच्यूत गर्ने हिसाबले ओलीले छलफल गर्न चाहेका छन् । त्यति मात्र होइन पछिल्लो समय पार्टीको बहुमत पक्षले ओलीका क्रियाकलापको आलोचना गर्न थालेपछि उनले सम्बन्ध सुधार्न भन्दै भारतीय गुप्तचर संस्थासँगको छलफल बाक्लो बनाएको छ । त्यसो त पहिलो संविधानसभामा भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिसँग काठमाडौंको एभरेष्ट होटलमा भएको भेटवार्ताका विषयमा नेपालको प्रमुख पत्रिका कान्तिपुरका सम्पादक सुधीर शर्माले आफ्नो पुस्तकमार्फत सार्वजनिक गरिसकेका छन्
ओली–खन्नाको सम्बन्ध र भ्रमणको उद्देश्य एउटै
नेपालका पूर्वप्रधानमन्त्री ओली र भारतीय गुप्तचर विभागका प्रमुख खन्नाबीच मतैक्यता र समानता छ । यस विषयमा नयाँ दिल्ली भ्रमणका क्रममा तत्कालीन नेपालका प्रधानमन्त्री ओली र रअ प्रमुख खन्नाले आपसमा छलफलसमेत गरेका थिए । खन्ना भारतमा माओवादीविरोधी अभियानका प्रमुखसमेत हुन् । उनलाई सन् २०१५ को शुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादीविरोधी अभियानमा योगदान गरेको भन्दै रअको प्रमुख बनाएका थिए । मोदीका विश्वास पात्रका रुपमा खन्नालाई लिने गरिन्छ । नेपाली नेता ओली पनि नेपालमा माओवादीको विरोध गरेर मात्र स्थापित भएका हुन् । जुन अहिले पनि निरन्तरता दिइरहेका छन् । माओवादीविरुद्ध ओली र खन्ना एक ठाउँमा छन् । रिसर्च एण्ड एनालाइसिस विङ (रअ)ले भारतमा कम्युनिष्ट र खासगरी माओवादी समाप्तिका लागि नेपालका माओवादीलाई समाप्त पार्नुपर्ने भन्दै काम गरिरहेको छ । उसले नेपालका माओवादी भारतका लागि पनि सुरक्षा चुनौती भएको निष्कर्ष निकालेको छ । यसमा ओली र रअको कुरा मिलेको छ ।
सरकार बनेको एक महिना नबित्दै नेपालका प्रधानमन्त्री प्रचण्डलाई हटाउनुको मुख्य कारण भारतीय कम्पनीलाई फाष्टट्र्याक नदिनु, भारतीय योजनाअनुसार ठूला जलविद्युत् आयोजना सञ्चालन गर्न नमान्नु, विमानस्थल, सुरक्षा निकायलगायतमा भारतीय लगानी अस्वीकार गर्नु रहेको बुझिएको छ ।
भारतले माओवादी अध्यक्ष प्रचण्डलाई यसअघिदेखि नै भारतविरोधी खेमामा राख्ने गरेको छ । यसअघि २०६६ सालमा प्रचण्डले आफू पदबाट हटेपछि भारतलाई सडकबाटै च्यालेन्ज गरेपछि प्रचण्ड भारतको स्थायी शत्रु बनेका छन् । उनले भारतले नचाहेका झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए पनि ओलीले आफू प्रचण्डको समर्थनमा प्रधानमन्त्री बन्नु गलत भएको भन्दै भारतीय पक्षसँग माफी माग्नेसमेत गरेका छन् । केही वर्षदेखि भारत र प्रचण्ड एकअर्काविरुद्ध नै देखिएका छन् ।
कसरी मिल्यो भेटवार्ताको वातावरण ?
एमाले अध्यक्ष ओलीले आफू जसरी पनि प्रधानमन्त्रीबाट नहट्ने योजनाअन्तर्गत भारतीय गुप्तचर संस्था रअसँग नजिक भएको देखिन्छ । नयाँ दिल्लीमा रहेका एक गुप्तचर अधिकारीका अनुसार लामो समय नयाँ दिल्लीमा बसेर पत्रकारिता गरेका तत्कालीन प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले यो भेटवार्ता मिलाएका हुन् । त्यसैको सेरोफेरोमा ओलीका विदेश मामिला सल्लाहकार केही समयअगाडि नयाँ दिल्ली आइपुगेका थिए । उनैले योजना बनाएर ओलीले थाइल्याण्ड भ्रमण तय गरेका हुन् । स्रोतका अनुसार नेपालको ठूलो दैनिक पत्रिकाका लागि नयाँ दिल्लीमा पहिले काम गरेका विदेश मामिला सल्लाहकारले समय र स्थान मिलाएपछि मात्र यो भ्रमण तय हुन सफल भएको हो । नेपालमा भने प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भारत पक्षधर देखाउनका लागि ओलीका प्रेस सल्लाहकार र विदेश मामिला सल्लाहकारले सञ्चालन गरेको एक अनलाइनमार्फत भए–नभएका समाचारहरु सार्वजनिक गरिएको छ । यी समाचारलाई ओलीका दुवै सल्लाहकारले आफूले पनि सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्ने र अरुलाई पनि सेयर गर्न लगाउने गरेका छन् । भारतमा जस्तो कानुनी व्यवस्था नभएकाले नेपालमा भने अनलाइन समाचार जसरी लेखे पनि हुने गरेको छ ।
नेपालकै विरुद्धमा रअ
भारतीय गुप्तचर संस्था रअ छिमेकीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नेमा दक्षिण एसियामै कुख्यात छ । नेपाललाई अस्थिर बनाउने, नेपालको राजनीति, सामाजिक र विकास निर्माणलाई आफू अनुकूल प्रयोग गर्ने यसको मुख्य ध्येय देखिन्छ । नेपालको राजनीतिक व्यवस्था परिवर्तनसँगै नेपालको विकासले गति लिन थालेपछि रअले नेपाल र नेपालका दलहरुविरुद्ध अभियान नै थालेको थियो । नेपालमा राजनीतिक परिवर्तनपछि भारतले नेपाली दल आफू अनुकूल चलुन् भन्ने चाहना राखेको थियो । जनमतअनुसार २०६५ सालमा सबैभन्दा पहिलो दल बनेको तत्कालीन एकीकृत नेकपा माओवादीलाई सरकारको नेतृत्व गर्न रोक्नु, सरकारको नेतृत्व गरेपछि पनि कटवाल प्रकरणबाट हटाउनु, त्यसपछि पनि माओवादीलाई कमजोर पार्ने र यथास्थितिवादी शक्तिलाई मलजल गर्ने काम रअले गर्दै आएको छ । केही समय त नेपालमा भारत र प्रचण्डबीच ठूलै द्वन्द्व सिर्जना भएको थियो ।
जुन अहिले पनि कायम रहेको छ । यो द्वन्द्वका बारेमा जानकार ओलीले भारतसँग निकट सम्बन्ध बनाएर अहिले फेरि रअको नेपाल ब्यूरोले गर्ने काम गरिरहेका छन् । बाहिर राष्ट्रवादी देखिएका ओली भित्रभित्रै माओवादीलाई समाप्त पार्ने नाममा नेपालमा भारतीय हस्तक्षेप निम्ताएका छन् । ओलीको बैंकक भ्रमण त्यसैको एउटा महत्वपूर्ण कडी हो । नेपाली कांग्रेसलाई पनि कमजोर पार्नका लागि रअले एमालेका नेताहरु उचाल्ने तथा पार्टीभित्रै खेल्ने गरेको नयाँ दिल्लीमा विश्लेषण छ ।
Advertisement
![]() |
Post a Comment