0
Advertisement
काठमाडौं–काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले गुण्डाराजको सूचना पाएमा प्रहरीले नछाड्ने बताएका छन् ।
शुक्रवार सामुदायीक सेवा मञ्च र सामुदायीक प्रहरी सेवा स्वयम्भुले राजधानीमा गरेको ‘प्रहरी मेरो साथी’ विषयक अन्तरक्रियामा बोल्दै उनले भने, ‘हामीले खुट्टामा चप्पल किन्ने पैसा काटेर जनताले तिरेको करबाट तलव खाएका छौं, त्यसैले जनताको सेवा गर्नु हाम्रो कर्तब्य हो । यदि समाजमा पसिना बगाउनेहरुलाई कसैले प्रताडित बनाउन खोज्छ भने प्रहरीलाई सूचना दिनुस हामी छाड्दैनौं, अबको समाजमा गुण्डाराज चल्दैन ।’
आजभोलि लागुऔषध प्रयोग गर्ने युवा–युवतीहरुको संख्या अत्यधिक भएको उल्लेख गर्दैै थापाले भने, ‘प्रहरीको हिरासतमा अहिले धेरै युवा– युवती लागु औषध सेवन र कारोवारका कारण थुनिएका छन्, तिनका दाजुभाई र बावुआमा हिरासत बाहिरको प्रतिक्षालयमा आँशु बगाउन बाध्य भएका छन् ।’
‘लागु औषध सेवन गर्ने युवा–युवतीहरुलाई सहि बाटोमा ल्याउन समाजको ठूलो भूमिका हुन्छ । टोल छिमेकमा कसैले लागुऔषध सेवन गरेको देखेमा सबैजना मिलेर सम्झाउन सके त्यस्तो युवा सहि बाटोमा आउन सक्छ, अन्यथा बिहानै उठेर बाबुले सुर्ती माडेको देखेमा त्यस्तो बालकले सुर्ती र चुरोट खान सिक्छ ।’ उनले भने, ‘त्यसैले बिहानै उठेर सुर्ती नमाड्नुस, तपाईंको छोराले त्यहि सिक्छ ।’
नेपाल प्रहरीले गत असारबाट शुरु गरेको ‘प्रहरी मेरो साथी’ कार्यक्रम जनताको मन मष्तिष्क जित्ने अभियान भएको उल्लेख गर्दै थापाले भने, ‘प्रहरी र जनता एउटै परिवार हो, त्यसैले अपराध नियन्त्रणका लागि जनता र प्रहरी हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’
विगत दश महिनाको संक्रमणकालिन अवस्थामा प्रहरीले कालोबजारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै एसएसपी थापाले गुण्डासँग साँठगाँठ गर्ने प्रहरी संगठनमा नरहने दाबी गरे । उनले भने, ‘गुण्डासँग साँठगाँठ गर्ने प्रहरी अब प्रहरी संगठनमा रहँदैन, हामीले त्यस्तालाई कारवाही गर्दै गुण्डाराजको कोपिला निमोठ्न मात्र खोजेका छैनौं, जरा उखेल्ने अभियान थालेका छौं ।’
कार्यक्रममा बोल्ने नागरिक अगुवा, साहित्यकारलगायतका प्रतिनिधिहरुले अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले शुरु गरेको ‘प्रहरी मेरो साथी कार्यक्रम’ प्रभावी रहेको धारणा राखेका थिए ।
Advertisement

Post a Comment

 
Top