0
Advertisement

विराटनगर: संखुवासभा र भोजपुरका स्थानीयवासीले आइतबार खेमराज गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएर अन्तिम बिदाइ गरे । बिहीबार निधन भएका गुरुङलाई जिल्लावासीले श्रद्धाञ्जलि दिन पाउनुपर्ने माग राखेपछि एड्भान्स क्लब मानेभन्ज्याङ र खाँदबारी युथ क्लबको पहलमा उनको शवलाई आइतबार बिहान १० बजे हेलिकोप्टरबाट सदरमुकाम खाँदबारी पुर्याइएको थियो ।

हेलिकोप्टरबाट शव ल्याउँदा लागेको दुई लाख ५० हजार रुपैयाँ खर्च पनि संखुवासभाका स्थानीयले संकलन गरेर बेहोरे । गुरुङका समकालीन मेदिनी घिमिरेले भने, 'गुरुङको शव बोकेको मनाङ एयरको हेलिकोप्टर जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा अवतरण हुँदा सन्नाटा छायो । आमसर्वसाधारण भावविह्वल बने । संखुवासभा र भोजपुर स्तब्ध बन्यो । हामी सबैको इच्छा अन्तिम पटक उनलाई एक पटक हेर्ने नै हो ।'

प्रहरी कार्यालयबाट शवयात्रा सुरु गरेर खाँदबारीको टुँडिखेल पुगेपछि त्यहीँ राखेर गुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिए । मानव सागर उर्लिएको शव यात्रामा संखुवासभा र भोजपुरका हजारौंको सहभागिता थियो । शवयात्राबाट श्रद्धाञ्जलि सुरु भएदेखि हेलिकोप्टरले शव लिएर जाँदासम्म सबैका आँखामा आँसुका धारा बगेका थिए । घिमिरेका अनुसार गरुङको उनको पार्थिव शरीर लिएर हेलिकोप्टर काठमाडौं फर्किएका थिए । घिमिरेका अनुसार खेमराजको निधन भएपछि उनको सम्मानमा भारतको सिक्किममा शनिबार सार्वजनिक बिदा दिएर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

घिमिरेका अनुसार खेमराज पूर्वब्रिटिस आर्मी अमृतबहादुर गुरुङ र तुलसीमाया गुरुङका एकमात्र छोरा हुन् । उनका एक दिदी र दुई बहिनी छन् । समकालीन घिमिरेका अनुसार 'वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना' बोलको चर्चित गीतबाट प्रसिद्धि कमाएका उनी सानैदेखि गीतसंगीतमा रुचि राख्थे । बजाउने, गाउने र नाच्ने उनको सोख थियो । उनी पहिले एमालेको चुनाव प्रचारमा बढी खटिने गर्थे । 'मेरो जीवन नै कलाकारिता हो भनेर अघि बढेका थिए', घिमिरेले भने, 'जेलजीवनकै क्रममा कलाकारितामा फड्को मारेर अघि बढ्दा गुरुङ चर्चाको शिखरमा पुगेका थिए ।'

'उनले गाएका गीतहरू बूढापाकादेखि बालबालिकासम्मको मुखमा अहिले पनि झुन्डिनुले खेमराज गुरुङ एउटा ब्रान्ड नै बनेका थिए', घिमिरेले भने । प्रायः पूर्वी नेपालमा हुने सबैजसो कार्यक्रममा उनको गीतले उच्च महत्त्व पाउँछन् । 'राम्रा मान्छेलाई दैवले पनि चाँडै लैजाने रहेछन् । राज्यले सक्षम, इमानदार, लगनशील र मेहनती कलाकार गुमाएको छ', उनको निधनप्रति दुःख व्यक्त गर्दै घिमिरेले भने । '

गायन, संगीत र गीत लेखन तीनवटै विधामा दक्खल राख्ने गुरुङको जीवन निक्कै संघर्षपूर्ण रह्यो । उनी एमालेको जनसांस्कृतिक मञ्चमा आबद्ध थिए । संखुवासभाको खाँदबारी नगरपालिका—३ मंगलादेवीथान (तत्कालीन पाङ्मा गाविस— १) मा जन्मिएका उनी २०४९ साल जेठमा भएको स्थानीय निकाय निर्वाचनका बेला कक्षा १० मा पढ्थे । जनसांस्कृतिक मञ्चमा रहेर कलाकारिताका माध्यमबाट एमालेको राजनीतिमा होमिएका उनी त्यतिबेला नै जेल परेका थिए ।

दुई पार्टीका कार्यकर्ताबीच निक्कै ठूलो दुश्मनी रहेको समयमा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनका बेला एमाले र कांग्रेस कार्यकर्ताबीचको दोहोरो झडपमा परेर तत्कालीन पाङ्मा गाविसका प्रधानपञ्च एवं कांग्रेस समर्थक डिल्लीराम चौहानको मृत्यु भएको थियो ।

त्यही घटनामा संलग्न भएको आरोपमा प्रहरीले गुरुङसहित पूर्वसांसद डेडराज खड्का, हेमराज खड्का, शान्ति ढुंगानालगायत २३ जनालाई पक्राउ गरेको थियो । घटनामा अदालतले डेडराज, शान्ति र खेमराजलाई पुर्पक्षमा पठाएर सबैलाई छाड्न आदेश दिएको थियो । २०४९ मंसिरमा डेडराज खड्का तारेखमा छुटे भने गुरुङ र ढुंगानालाई जेल सजाय सुनाइयो । सँगै पक्राउ परेका डेडराजका अनुसार तीन वर्षपछि एमाले सरकारले मुद्दा फिर्ता लिएपछि उनीहरू पनि जेलमुक्त भए ।

डेडराज २०५१ सालको मध्यावधि निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार भएर सांसदमा निर्वाचित बने । 'गीतसंगीतमा चासो राख्ने गुरुङले जेलभित्रै पनि धेरै सांगीतिक गतिविधिहरू गर्थे', खड्काले भने 'जेल नेलदेखि कलाकारिताको यात्रासम्म उनले प्रगति गरिसकेका थिए ।'

जेलभित्रको उनको संगीतयात्रलाई जीवन गुरुङ, कुमार गुरुङ, ईश्वर घिमिरेलगायतले सहयोग गरेका थिए । सहयोग गरेकै कारण जेलभित्रै गीति एल्बमको तयारी गरेका खेमराजले एल्बमसमेत जीवन भाग–१, जीवन भाग–२ नाम दिएर निकालेको खड्काको भनाइ छ ।

उनले गाएको चर्चित 'वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना' बोलको गीत संखुवासभा र भोजपुरको सिमाना भएर बग्ने अरुण नदीको किनारमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामनालाई आधार बनाएर तयार पारिएको जानकारी खड्काले दिए । गुरुङले जेलमै एसएलसी र प्रमाणपत्र तहको अध्ययन गरेका थिए । 'जेलमा बढी संघर्ष र संगीत साधना गरे', उनले भने, 'त्यसकै परिणामस्वरूप उनी ख्यातिप्राप्त कलाकार बने ।'

Annapurna Post 


Advertisement

Post a Comment

 
Top