0
Advertisement

काठमाडौं, १४ भदौ । आफैंले असफल बनाएको बजेट आश्रित विधेयक पारित गर्न प्रयास गरिरहेका माओवादी नेता तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई अनुहार रातोपिरो हुनेगरी एमालेका नेताहरुले जवाफ दिएका छन् ।

संविधान अनुसार नयाँ विधेयक बनाएर संसदमा पेश गर्न अर्काे वर्षको जेठ १५ गते पर्खनुपर्नेछ भने असफल भएको सोही विधेयक अघि बढाउन पनि संसदको चालु अधिवेशन अन्त्य भइ नयाँ अधिवेशन आउनुपर्ने अडान एमालेका नेताहरुले लिएपछि सरकार अप्ठेरोमा परेको हो ।

सरकार परिवर्तनका लागि आफैंले बजेट आश्रित विधेयक फेल गराएको माओवादी र सो विधेयकको विपक्षमा मतदान गर्नुअघि संसदमा वक्ता भएर बोलेका तिनै महराले यस्तो कुरा गरेपछि एमाले नेताहरुले महरालाई अनुहार नै रातो हुनेगरी जवाफ दिएका थिए । यो विषय अर्थमन्त्री महराले बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठकमा उठाएका थिए ।

‘तपाईंहरुले नै विधेयक फेल गर्नु भएको हो, तुच्छ स्वार्थका लागि राष्ट्रको गति नै बन्द हुनेगरी विधेयक किन फेल गर्नु भयो र अहिले किन आवश्यक ठान्नु भयो ?’ यस्तो प्रश्नले महरा रातो मुख लगाएर बसे र विगतका गल्ती सच्याएर कुनै न कुनै उपाय निकालेर संकटबाट मुक्त हुनुपर्ने बताए ।

आश्रित विधेयक पारित गर्नका लागि पूर्व अर्थमन्त्री विष्णु पौडेलले पनि प्रचण्ड सरकारलाई विधि र प्रक्रिया अपनाउन सुझाव दिएका छन् । एमालेको अडानले प्रचण्ड सरकार आफैले थापेको पासोमा आफै परेजस्तो भएको कतिपयको विश्लेषण छ ।
बजेटसँग सम्बन्धित आश्रित विधेयकलाई पारित हुन्छः महरा

यता उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताए । अर्थमन्त्री महराले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए । राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, ‘अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन । अब राजनीतिक पूर्वाग्रह राखिन्न ।’

Advertisement

Post a Comment

 
Top