Advertisement
![]() |
महामहिम भूतपूर्व राष्ट्रपति ज्यू : नमस्कार।तपाईँ नेपालमा गणतन्त्र स्थापना पछिको पहिलो राष्ट्रपति, झण्डै दुईसय पचास बर्ष सम्मको जहानियाँ राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति। केहि महिना पहिले डेरा हैन आफ्नै घर सर्नुस भनेर खुला पत्र लेखेको थिएँ, फेरि पनि लेख्ने दुस्शाहस गर्दैछु । मलाई थाहा छ यो पत्रले तपाईलाई केहि फरक पर्ने वाला छैन । तपाई त तराई मधेसको ग़रीब बस्तीको बिचबाट संघर्ष गर्दै राज्यको सर्बोच्च पदमा पुगेको जनताको छोरा, हामी गर्व गर्छौ, आज एउटा आम जनताको छोरा, मधेसमा पछि परेको/ पारिएको जनजाति ‘ अहिरको छोराले ईतिहाँस रच्दै देशको सर्बोच्च पदमा अासिन भएर देशमा जनताको संबिधान घोषणा गरेकोमा। तपाई पदमा आसिन भएपछि देशले केहि उपलब्धि हात पार्यो केहि गुमायो केहि राजनीतिले गर्दा त केहि प्रकृतिले गर्दा । यो त तपाईं जानुफकार हुनु हुन्छ नै । राजनैतिक आरोह अवरोह र प्राकृतिक प्रकोपले मुलुकको अर्थ ब्यवस्था संगै मनहरु छिया छिया भएको तथ्यांक म संग भन्दा तपाईंसंग आधिकारिक छ ।
जनताले,जनताको लागि , जनताद्वारा गरिने शासन ब्यवस्था ‘ लोकतन्त्र । जनतालाई केन्द्रमा राखेर जनताको हितमा काम गर्ने ब्यवस्था नै लोकतन्त्र हो भनेर साना साना नानी बाबुहरुले पढिरहेकै छन । आज झन्डै पचास लाख भन्दा बढि युवायुवतीहरुले बिदेशमा ज्यान जोखिममा पारेर पसिना संग श्रम साटेर पठाएको रेमिट्यांसले देश चलेको छ , थामिएको छ । लोडशेडिंगमा मधुरो टुकी, मैनवत्ती बालेर नेपाल ब्राजिल पछिको दोश्रो ठूलो जलबिद्दुत उत्पादन गर्न सक्ने देश हो भनेर भविष्यका कर्णधारहरुले पढिरहेकै छन, कहिलेसम्म पढ्ने हुन कुन्नि ? भुकम्प पछि हजारौं जनता अझै पनि आफन्तहरु गुमाएर मुटुमा गाँठो पार्दै च्यातिएको त्रिपालमुनि आधा जिन्दगी बाँचिरहेका छन। दुर्गम क्षेत्रमा अझै पनि धेरै मान्छेले मोटर देखेकै छैनन, बिकास भन्ने कुन चराको नाउँ हो उनीहरुलाई थाहा छैन। पाँच किलो चामल सित्तैमा होईन, किन्नलाई पनि नेताहरुको सिफ़ारिश चाहिन्छ। जीवनजल र सिटामोल नपाएर मान्छे मरेको मर्यै छन् । नेपालको त्यही दुर्गम क्षेत्र हो जहाँ एउटी नारी बहुपति प्रथामा आफ्नो शरीर लुटाईरहेकी छे, प्रगतिशील ठानिएको संबिधानको कुनै पनि धाराले उसलाई देख्न सकेको छैन । तपाई जन्मे हुर्केको तराईमा अझै पनि बाबुवाद कायमै छ, शिक्षा, स्वास्थ्य र बिकासको सूचक लाज मर्दों छ। विष्वले बिज्ञान प्रबिधिमा जादूमयी फड्को मार्दा हामी भने ‘ खुला दिशामुक्त गा. वि. स./ नगरपालिका घोषणा गरिरहेका छौ, तर अझै पनि तराईमा बिभिन्न संस्थाले बनाईदिएका चर्पीहरुलाई मान्छेहरुले भुसको गोदाम बनाईरहेका छन । दिन प्रतिदिन कर्मचारीहरुले अख़्तियार दुरुपयोग गरि अकुत सम्पति आर्जन गरेको समाचार, घुस लिदा लिदै पक्रेको समाचार आएकै छ । संबैधानिक अंगमै लोकतन्त्र हैन लोकमानतन्त्र हावी छ । सिंहदरवार/ बालुवाटारमा बहालवाला र भि. आई. पी. हरुको तलब सुबिधा बढाउन चौतर्फी प्रेशर आईरहेको छ, निर्णय बिना भि. आई. पी. हरुलाई बिलासी गाडी, ईन्धन सुबिधा र अन्य सुबिधा दिईएको छ। स्वास्थ्य उपचार खर्च, आर्थिक सहयोग र नानाथरी बहानामा राज्यकोषको ढुकुटी दोहन भएको भयै छ । यसै बिच पहिचानको आन्दोलनका नाममा फुट्ने र फुटाउने श्रिंखला चलिरहेकै छ । पाँच महिना सम्म नागरिकलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने निकम्मा आयल निगमले कर्मचारीहरुलाई नब्बे करोड बोनस बाँड्ने काम पनि हाम्रै नेपालमा हुन्छ, त्यहि आयल निगमका कर्मचारी ब्यापारी संग मिलेर कालोबजारी गर्छन, कम तेल दिने डिभाईस सेट गर्छन । यस्ता कैयौं प्रहसनहरुको लामो लिष्ट तयार हुन्छ , जो एउटा सानो पत्रमा अटाउँदैन त्यसैले खाँटी बिषयवस्तुमा प्रवेश गर्न चाहन्छु। जुन कुराले तपाईको निर्णय त नबदलिएला तर भित्रभित्रै ग्लानी अवष्य हुनेछ । महामहिमज्यू, मलाई तपाई प्रति अपार श्रद्दा छ, सहानुभूति छ । तपाई पदमा रहुन्जेल जनताले बुझाएको करले जे जति सेवा सुबिधा पाउनुभयो, त्यसमा मलाई गुनासो छैन । तपाईले राज्यलाई नेतृत्व दिने बेलामा पाएका विलासी गाडी, आवास, ईन्धन र अन्य खर्चहरुको जनताले खर्च मागेका पनि छैनन । मैले जानेसम्म पेशाले तपाई डाक्टर हो, तपाईको उमेरका बहुसंख्यक बूढाहरु पसिना बगाएर ज्यान पालिरहेका छन । हिजो मात्रै आएको समाचारले मेरो फेरि तन्द्रा भंग भो: तपाईलाई प्रोष्टेट क्यान्सर लागेको समाचार । म बडो दुखी भएँ । एउटा राज्यको अभिभावकलाई क्यान्सर लाग्दा कहाँका जनता खुशी हुन्थे र ? खोई के के रोग लागेर भूतपूर्व प्रधानमन्त्री शेर बहादुर देउवा सिंगापुर र निवर्तमान प्रधानमन्त्री के. पी. ओली पनि थाईल्याण्ड तिर जानु भएको छ रे ! ठूला मान्छेहरु उपचार गर्न बिदेश गएको समाचार छापाहरुमा आईरहेकै हुन्छ । मेरा एउटा नजिकका आफन्त ब्लड क्यान्सरले थलिएर भए भरको सम्पत्ति बेचेर नपुगेर अहिले अस्पत्ताल हैन घरको खाटमा मृत्यु संग लडिरहेका छन, तपाईहरुको भाषामा उनको ज्यान ज्यान होईन ? तपाईलाई पनि त्यहि प्रोष्टेट क्यान्सरको उपचार गर्न अमेरिका जान ढुकुटीबाट साठी लाख रुपैया दिने निर्णय सरकारले गरेछ । मलाई त्यसको गुनासो हैन र हुनुपनि छैन । तर एक महिना पनि बितेको छैन गोरखामा जाबो एउटा रक्तश्राव रोक्न नसक्ने स्वास्थ्य चौकी र गाडी चल्ने बाटो नभएर घरखेत धितो राखी हेलिकोप्टर भाडामा ल्याएर काठमांडौ ल्याउँदै गर्दा दुर्घटना भई सवार सबैको कारुणिक मृत्यु भएको, दुर्गममा कति गर्भवतीहरु मरिरहेका छन्, तराईको डुवान पछि फैलिएको महामारीले कति मान्छे थला परेका छन् ? के तिनीहरुको ज्यान ढुंगामूढा हो ? के तिनीहरुलाई बाँच्नु पर्दैन ? तपाईं त झन अनुभवी डाक्टर पनि हुनुहुन्छ। बिरामीको चित्कार त मैले भन्दा बढि तपाईले सुन्नु भएको छ । तपाई राज्यले उपलब्ध गराउने मासिक एक लाख तीस हजारको भाडाको घरमा बस्नुहुन्छ , तपाईको त आफ्नै घर पनि छ, सरकारले भत्ता पनि दिन्छ , छोरा छोरी नातिनीहरुको पनि राम्रो कमाई छ । तपाईको त यथेष्ट पुर्खौली जायजेथा पनि त छ तर हेर्नुस हजारौँ मान्छे पाल मुनि छन् , त्यहि पाल पनि डुबानमा परेर ताल बनेको छ । यस्तो बेला तपाईलाई राम्रो ठाउँमा गएर उपचार गर्न पाए हुन्थ्यो भनेर गुनासो गर्नु भएछ, तपाईको गुनासो जायज़ हो, तर तपाईहरु आफैले बनाएको सिष्टमले नौ महिना नहुँदै हुलका हुल भि. आई. पी. जन्माउँछ, संसारकै गरीब राष्ट्रको रुपमा देश दर्ज हुनै लाग्दा तपाईहरु जस्ता भि. आई.पी. बिदेश उपचार गर्न गईरहने हो भने देश कसरी उभो लाग्छ ? ए साँच्चै ! तपाईहरु सबै जसो बडो राष्ट्रवादीको गफ हाँक्नु हुन्छ: तपाईहरुका छोरा छोरी बिदेशमै पढ्छन, तपाईहरुलाई ज्वरो जचाउन पनि बिदेश जानुपर्छ । मैले सुने अनुसार नेपालमै तपाईलाई लागेको प्रोष्टेट क्यान्सरको अप्रेशन गर्न सक्ने दुई दर्जन जति डाक्टर छन् रे ? फेरि यतिका विष्वबिद्यालय र मेडिकल कलेजहरुमा डाक्टरी पढाई भएकै छ किन यी सबैलाई बिश्वास गर्नु हुन्न ? सबै नक्कली त होईनन् नि हैन र ? साँच्चै तपाई राष्ट्रवादी भएको भए जीवनको यो उत्तरार्धमा पुगेको मान्छे जे भए पनि म स्वदेशमै उपचार गराउँछु नत्र मरे मर्छु भन्न सक्नु भएन है ? यसै पनि कति बाँच्नु हुन्थ्यो र महामहिम ज्यू ? बरु तपाईलाई बचाउन हामी चन्दा उठाएरै भए पनि करोडौँ उपचार खर्च जुटाउथ्यौँ । तपाईलाई पक्कै थाहा छ : दक्षिण अमेरिकी मुलुक उरुग्वेका ७८ बर्षे भू.पु. राष्ट्रपति Josse Mujika पनि अझै जीवित छन एउटा साधारण घरमा बसेर आफ्नो तलब भत्ताको नब्बे प्रतिशत च्यारिटीमा खर्च गर्छन । उनको भन्छन: उनी त्यस्तो घरमा बस्न चाहे जहाँ उनको देशका बहुसंख्यक जनताहरु बस्छन । जब कि नेपाल भन्दा धेरै बिकसित र सम्पन्न देश हो उरुग्वे । त्यही सरल जीवनशैलीले गर्दा उनी संसारमै प्रिय छन । एउटा भनाई छ : राम्रो अभिभावकले राम्रै मार्ग निर्देश गर्छ, भावी पुस्तालाई सहि बाटोमा डोर्याउँछ। तपाई तीन करोड नेपाली जनताको अभिभावक हो र तपाईंले गरेका हरेक राम्रा कामले राम्रा मान्छेलाई अझ राम्रो गर्न प्रेरणा दिन्थ्यो भने भ्रष्टहरुलाई नैतिक दवाव पर्थ्यो । तर तपाईँ त भ्रष्टहरुकै कित्तामा उभिनु भयो त महामहिम ज्यू ! हजारौं जनता घरवार बिहीन भएको बेला, जाबो सिटामोल र जीवनजल नपाएर मान्छेहरु मरिरहेको बेला जनताको लास माथिबाट उडेर तपाईलाई अमेरिकामै उपचार गर्ने भूत किन जागेको होला ?
तपाईलाई मात्र होईन मेरो प्रश्न प्रचण्ड, देउवा, ओली र भोलि आउने सबै भि. आई. पी. भनाउँदाहरु सबैलाई सोधेको सोध्यै छुँ ।किनकि अझै पनि सिटामोल नपाएर मान्छे मरिरहने देशमा क्षमता र योग्यता भएकाहरुले याचना गरेरै देशको ढुकुटी दोहन गर्ने हो भने हाम्रा भावी सन्ततीले तपाईं हामीबाट के सिक्ने ? जनतालाई प्रभावकारी स्वास्थ्य सुविधा देऊ, स्वास्थ्य विमा, अस्पत्ताल र स्वास्थ्यकेन्द्र हरु ब्यवस्था गर , म स्वदेशमै उपचार गराउँछु भनेर सरकारलाई सहयोग गर्नु त कता हो कता उल्टो ढुकुटीबाट उपचार गराउन नपाएर घोँसे मुन्टो लगाएर मागिरहनेलाई नागरिकले के भनेर श्रद्दा गरिरहने ? मलाई थाहा छ, तपाईलाई यी सबै कुराले छुन सक्दैन, मेरो एउटा नाथे पत्रले तपाईको निर्णय त बदलिने छैन, तर बिचार गर्नुहोला भोलि तपाईहरुको मरणमा भ्रष्टहरु मात्रै मलामी जानेछन् । अझै केहि बिग्रेको छैन, सोच्नुस है महामहिम ज्यू ! तपाई भि. आई. पी.भनाउँदा हरुलाई उपचार गर्दा गर्दै देशै बिरामी भैसक्यो । तपाईको शुभचिन्तक
Advertisement
![]() |
Post a Comment