0
Advertisement
भाद्र १३, भक्तपुर । भक्तपुर जिल्लामा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वन र वनको सीमा क्षेत्रमा रहेका जग्गाधनी, मोही र पाखुरी मोहीबीचको सिमाना विवाद समाधान भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहयोेग र द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समूहको प्रयासमा पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै वनको सिमाना विवाद समाधान भएको हो ।

नेपाल सरकारबाट हस्तान्तरण भएदेखि नै केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वन र वनको सीमा क्षेत्रमा रहेका जग्गाधनी, मोही र पाखुरी मोहीबीच सिमाना विवाद उत्पन्न भएको थियो । सो विवाद समाधानका लागि विगत एक वर्षदेखि केन्द्रले माकुरा समूह गठन गरी कार्य गरिरहेको थियो ।

जग्गाधनी र मोहीहरुले विवादित क्षेत्र वनलाई नै हस्तान्तरण गर्ने सहमति गरेसँगै सिमाना विवाद समाधान भएको केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनका संयोजक विश्वराम थापाले जानकारी दिए ।

सहमतिपत्रमा सूर्यविनायक नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत यामलाल अधिकारी, धार्मिक वनका तर्फबाट संयोजक विश्वराम थापा, सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुरका अध्यक्ष रामेश्वर बोहोरा, जिल्ला वन कार्यालय भक्तपुरको तर्फबाट प्रतिनिधि रोशनी बुढाथोकी, जग्गाधनीको तर्फबाट पद्मबहादुर पौडेल, मोहीको तर्फबाट बच्चुराम थापा र पाखुरी मोहीको तर्फबाट रामधारी भुजेल र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको तर्फबाट कोषाध्यक्ष निरुमाया थिङले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, छ बुँदै सहमतिसँगै तलेजुदेवी सामुदायिक वन उपभोक्ता समूह र वनको सीमा क्षेत्रमा रहेका १६ जना जग्गाधनीबीच रहेको सिमाना विवाद पनि समाधान भएको छ । नेपाल सरकारबाट विसं २०५४ मा हस्तान्तरण भएदेखि नै उक्त वन र १६ जना जग्गाधनीबीच सिमाना विवाद उत्पन्न भएको थियो । रासस
Advertisement

Post a Comment

 
Top