Advertisement
![]() |
मन्त्री बन्ने विश्वासमा अझै गच्छदार छन् भन्ने गतिलो उदाहरण हो – पुल्चोकको मन्त्री क्वार्टरबाट अझै उनले डेरा नसार्नु । ओली सरकारका मन्त्रीहरु सरकारले राजीनामा दिएको भोलिपल्टै सामान सारेर तालाचावी बुझाउँदै हिँडे पनि गच्छदार भने अझै मन्त्री हुने आसमा तालाचावी खल्तीमा हालेर हिँडेको गुनासो प्राप्त भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १९ मा राजीनामा दिएसँगै क्र्वाटरमा बसेका अन्य मन्त्रीहरुले नैतिकता देखाउँदै केही दिनमै सामान सारेर क्वार्टर खाली गराए । तर, ओली नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेका गच्छदारले भने ओली सरकार ढलेको महिना दिन गुज्रिसक्दा समेत मन्त्री क्र्वाटर खाली गराएका छैनन् ।
गच्छदार क्र्वाटरमा नबसे पनि उनले आफू फेरि मन्त्री भएर फर्कने भन्दै तालाचावी खल्तीमा बोकेर गएका छन् । उनले मन्त्री हुने आसमा क्वार्टरबाट सामान समेत सारेका छैनन् । ‘म फेरि मन्त्री भएर आइहाल्छु,’ स्रोतले गच्छदारलाई उद्धृत गर्दै भन्यो, ‘त्यसैले अहिले सामान सार्ने झन्झट गर्नुभन्दा पनि क्वार्टरको साँचो आफैं लिएर जान्छु ।’
गच्छदार यसरी क्वार्टरको तालाचावी लिएर हिँडेपछि यसको व्यवस्थापन गर्ने निकाय अन्योलमा परेको छ । मन्त्री क्वार्टरको रेखदेख र व्यवस्थापन गर्दै आइरहेको भवन निर्माण संभार डिभिजन कार्यालय पुल्चोकले पटक पटक ताकेता गरे पनि उनले आफू केही दिनमै मन्त्री भएर आउने भन्दै टार्ने गरेका छन् । यसरी गच्छदारले क्वार्टर कब्जा गरेपछि कर्मचारी अप्ठ्यारोमा परेका छन् । गच्छदार मन्त्री क्वार्टरको डी२ मा बस्दै आएका थिए ।
उता, गच्छदारजस्तै ओली सरकारमा उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका एमाले उपाध्यक्ष भीम रावलले पनि यो समाचार तयार पार्दासम्म क्वार्टर छाडेका छैनन् । मन्त्री हुने सम्भावनै नभएका रावललाई सामान सार्न पटक पटक ताकेता गरे पनि उनले नसारेको बताइन्छ ।
-साँघु साप्ताहिक
Advertisement
![]() |
Post a Comment