0
Advertisement
अर्घाखाँचीको हंशपुरमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । घटनास्थलमा ९ जना र सन्धिखर्कमा उपचारको क्रममा थप दुई जनाको ज्यान गएको हो ।

कच्ची तथा उकालो सडक रहेको घटनास्थलबाट जिप करिब ७ सय मिटर तल खसेको बताइएकोे छ । दुर्घटनामा परी जिपका मालिक किमडाँडाका नारायण रानाको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश हंशपुरका रहेका स्थानीय रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा हंशपुरका रामबहादुर घर्तीमगर, हुमबहादुर राना, भीम केसी, मीनबहादुर केसी र देवबहादुर थापा रहेका छन् ।
त्यसैगरी, धारापानीकी कमला पौडेल, पुर्कोटदह गुल्मीका भेषबहादुर थापा, गुल्मी भनभनेका बुद्धिराम परियार, बाङ्गेमोरट प्युठानका शोभा रोकामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग१ज ४८७८ नम्बरको जिप अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदीकोट जाँदै गर्दा दिउँसो सवा तीन बजेतिर पोष्टापाटको भीरबाट तल खसेको थियो । दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने दुई जनाको अर्घाखाँचीमै उपचार भैरहेको बताइएको छ । जीपमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Post a Comment

 
Top