0
Advertisement
काठमाडौं, ११ भदौ । नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले शुक्रबार साँझ नेपालकै एकमात्र सरकारी बाल अस्पताल कान्तिको निरीक्षण गरेका छन् ।
शुक्रबार विहान राष्ट्रपतिबाट सपथ लिएका मन्त्री थापाले पदभार ग्रहण गरेलगत्तै जनताको मन जित्ने काम थालेका हुन् ।
पदभार ग्रहण गरेलगत्तै बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा छानविन गर्न विशेषज्ञ समिति गठन गरेका मन्त्री थापाले साँझ कान्ति बाल अस्पतालको आकस्मिक कक्षको निरीक्षण गरेका हुन् ।
गलत रिपोर्ट छानविन गलत रिपोर्टका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेको र स्वास्थ्य मन्त्रालयमा उजुरी धेरै आएपछि मन्त्री थापाले छानबिन गर्न विशेषज्ञ समिति गठन गरेका हुन् । यो समितिले छानबिन गरी गलत रिपोर्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउनेछ । मन्त्री थापाको पहिलो निर्णय कार्यान्वयन भए धेरै नेपाली युवाले राहत पाउनेछन् ।
लाखौं युवाले राहत पाउने निर्णय गरेलगत्तै निरीक्षणका क्रममा मन्त्री थापाले केही समय अगाडी आफ्नो छोरी बिरामी हुँदा कान्ति अस्पतालले राम्रो उपचार गरेको भन्दै डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यबाद दिए । उनले अस्पतालमा आउने बिरामीले गुणस्तरीय सेवा सहज रुपमा पाउनुपर्ने समेत बताए ।
निरीक्षणका क्रममा मन्त्री थापाले आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सकलाई भेटेका थिए । ड्युटीमा रहेका बालरोग विशेषज्ञ डा. जगन्नाथ शाही र मेडिकल अफिसर कपिल दुवाडीसँग उनले अस्पतालका समस्याका विषयमा कुराकानी गरेका थिए ।
‘यो अस्पतालको समस्या समाधान गर्न तर्फ लाग्ने छु,’ उनले भने– ‘गुणस्तरीय सेवा प्रवाहका लागि मेरा तर्फबाट सक्दो सहयोग गर्ने छु ।’ उनले फेरि आउने भन्दै राम्रो सेवा दिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।
बिनादर्ता सञ्चालित मेडिकललाई कारबाही गर्न निर्देशन
अस्पताल जानुभन्दा अगाडी मन्त्री थापा बिजुलीबजारस्थित औषधि व्यवस्था विभागमा समेत पुगेका थिए । विभागमा पुगेर मन्त्री थापाले दर्ता नगरी औषधि पसल चलाउनेलाई कारवाही गर्न समेत निर्देशन दिएका थिए ।
Advertisement

Post a Comment

 
Top